काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले अनुगमन गर्ने नाममा आतंक मच्चिने गरेको बताउनु भएको छ । राष्ट्रिय उपभोक्ता मञ्चको १८ ओैँ बार्षिक साधरण सभा तथा स्थापना दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, 'नेपालमा जहिलेपनि चाडबाड आउँदा मात्र अनुगमन गर्ने गरिन्छ । साथै एउटा संस्थालेमात्र हैन विभिन्न संस्थाले अनुगमन गर्छ । अनुगमनको नाममा आतंक मच्चाएर मात्र हुँदैन् । त्यसलाई नियमन गर्नुपर्छ'।
श्रेष्ठले कालो बजारी ऐनलाई लिएरमात्र व्यापारीलाई कारबाही गर्न नहुने बताउनु भयो । उहाँले बदमासी गर्नेलाई कारबाही गर्नुपर्ने तर सबै व्यापारीले बदमासी गर्छन भन्ने नहुने र चोर भन्न नमिल्ने बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले नीति बनाउने बेलामा निजी क्षेत्रका संस्थाका प्रतिनिधि सहभागी गराउनुपर्नेमा निजी स्वार्थ बोकेका व्यवसायीहरुलाई सहभागी गराउने गरिएकाले महंगी लगायतका समस्या बढदै गएको समेत औंल्याउनुभयो । उहाँले राष्ट्रिय उपभोक्ता मंच जस्ता अधिकारमुखी संस्थाले यस्ता क्रियाकलापका विरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिनुका साथअनुगमनको नाममा व्यवसायीलाई आतंकित गराउने कार्य बन्द नगर्ने हो भने व्यवसायीहरुको मनोबल उकासिन नसक्ने र आर्थिक गतिविधि ठप्प हुनसक्ने खतरा बढ्ने उल्लेख गर्नुभयो ।