काठमाडौं - स्थानीयस्तरमा प्रतिष्ठित नारायणदेवी-तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार टाेखा परम्परागत चाकु संरक्षण समाजलाई प्रदान गरिएको छ । बाजे-बराजुले गर्दै आएको लोपोन्मुख व्यवसायलाई नयाँ पुस्तामा हस्तान्तरण सहित उद्योगको रूपमा विकास गरेको भन्दै नेवा: देय् दबुको २८औं स्थापना दिवसको अवसरमा १ लाख राशीको 'नारायणदेवी-तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार' समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठलाई प्रदान गरिएको हो ।
नेवा: हरूको गौरवशाली राष्ट्रिय संगठन नेवा: देय् दबुका संरक्षक मल्ल के सुन्दरले पानसमा दीप प्रज्ज्वलन गर्दै विभिन्न विधामा पुरस्कार प्रदान गर्नुभएको छ । नेपालको ७७वटै जिल्ला र संसारभरि छरिएर बसेका नेवा: हरूले ऐक्यबद्धता जनाउँदै दबूको २८औँ स्थापना दिवस भव्यतापूर्वक सम्पन्न गरेका हुन् । दबूका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि एवं दबुका संरक्षक मल्ल के सुन्दरले 'नारायणदेवी-तीर्थ-तीर्थ पुरस्कार समाजसेवा' विधामा गणेशराम लाछी मध्यपुर थिमीलाई, नारायणदेवी-तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार कृष्णबहादुर श्रेष्ठ टाेखा परम्परागत चाकु संरक्षण समाजलाई र गिरिधरलाल नेपालभाषा सेवा पुरस्कार महेन्द्र गोपाल कर्माचार्य विराट नेपालभाषा साहित्य सम्मेलन गुठी ख्वप:लाई र नेवा: अमेरिकन दबु सिकागोलाई प्रदान गरिएको छ ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृतहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । व्यवसायी प्रोत्साहन पुरस्कारको राशी रू. १ लाख भए पनि अन्य विधातर्फ जनही ५0 हजारमध्ये दाता सुमित्रा मानन्धरले रू. ५0 हजार प्रदान गर्नुभएको छ । नेपाल सम्वत् ११३२ मा स्थापना भएको नारायणदेवी-तीर्थ नेवा: समाज सेवा पुरस्कार, नारायणदेवी-तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार दबुको स्थापना दिवसमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । दबुको स्थापना दिवस ञलाथ्व सप्तमी भदौ १८ गते नेपालभाषा साहित्य, सँस्कृति, उद्योग-व्यवसाय आदि विधामा जनही १/१ लाख प्रदान गरिँदै आएको छ । प्रमुख अतिथि तथा दबुका संरक्षक मल्ल के सुन्दरले नेवा: जाति नभएर सम्पदा भएको बताउनुभयो ।
विश्वभरि छरिएर बसेका नेवा:हरूको हकहित सुनिश्चित गर्दै एकताबध्द ढंगले रहनसहन, सँस्कृति, भाषा, व्यवसाय र नेवा: पहिचानको रक्षा एवं विकास गर्नुपर्ने बताउनुभयो । आत्मसम्मान तथा उच्चभावनाको उत्थानका लागि दबुको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । दबुका सभापति पवित्र बज्राचार्यले नेवा: कला-सँस्कृति, भेषभुषा, रहनसहन र नेपाल भाषाको रक्षा गर्न तत्काल देशभरि नै झिगु: भाय्: झिसं: ल्हाय्’ अर्थात् (हाम्रो भाषा हामी नै बोलौँ) अभियान चल्ने बताउँदै हरेक नेवा: हरूको घर-घरमा नेपालभाषा बोल्न आग्रह गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहेर नेपालभाषा लिपि अभियान चलाइरहेका वर्ल्ड नेवा: अर्गनाइजेसन, विभिन्न सामाजिक व्यक्तित्व, गायक-गायिका, वाद्यवादक एवं प्रशिक्षकहरूलाई सम्मानपत्र प्रदान गरिएको छ ।
नेवा: कलाकारहरूले लोकप्रिय एवं नेपाली लोकसँस्कृतिमा प्रचलित धार्मिक लोक नृत्यहरू प्रस्तुत गरेका थिए । दबुका महासचिव सत्यनारायण डंगोलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा चर्चित कलाकार पवित्र कसा:, दिनेश श्रेष्ठ, रमना श्रेष्ठ, जुजुकाजी रञ्जित लगायतले सुमधुर सांगीतिक प्रस्तुति दिनुभएको थियो ।
विशिष्ट अतिथि संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, आदिबासी जनजाति आयोगका प्रमुख आयुक्त सूर्यबहादुर गुरूङ, गोकुल घर्तिमगर, गेल्जे शेर्पा, पूर्वमन्त्री तीर्थराम डंगोल, हितमान शाक्य, प्राध्यापक गीताभक्त जोशी, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर डा. पुष्पराज राजकर्णिकार, प्रा.डा. त्रिरत्न मानन्धर, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेवा: न्ह्य्लुवा डा.महेशमान श्रेष्ठ, वरिष्ठ समाजसेवी सरला कायस्थ, साहित्यकार त्रिरत्न शाक्य, ज्यापू महागुथिका अध्यक्ष राजभाइ जक:मी, नेपालभाषा मिसा खल: का संस्थापक अध्यक्ष सुवर्णकेशरी चित्रकार लगायत दबुका केन्द्रिय पदाधिकारीहरू, भातृसंगठनका अध्यक्षहरू, राष्ट्रिय परिषदका सदस्यहरू, प्रदेश समितिका अध्यक्षहरू, जिल्ला अध्यक्षहरू, पालिका समितिका अध्यक्षहरू, निवर्तमान पदाधिकारी, पूर्व सल्लाहकारहरू लगायत अन्य गुठीबाट आएका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।