चलचित्र कलाकार संघद्वारा वरिष्ठ कलाकारहरू सम्मानित
News Desk
Mar-17 तारिख 05:43 बेलुका

काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघको २० औं वार्षिक साधारणसभा काठमाडौँमा एक विशेष समारोहका बीच सम्पन्न भएको छ। नेपाली चलचित्रका लोकप्रिय गीतमा नृत्य प्रस्तुत गर्दै सुरु गरिएको उक्त कार्यक्रममा विशिष्ट कलाकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरियो।

पाँच दशकदेखि अभिनयमा सक्रिय चरित्र अभिनेता मुकुन्द किशोर भट्टराई, चार दशकदेखि अभिनयमा क्रियाशील चरित्र अभिनेता लय संग्रौला, र चार दशकदेखि अभिनयमा संलग्न अभिनेता पूरण जोशीलाई क्रमशः नेपाल चलचित्र कलाकार संघको २०७८, २०७९, र २०८० सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार प्रदान गरियो। यस पुरस्कारको राशी जनही ७५ हजार रुपैयाँ रहेको छ।

यस वर्षको शान्ति मास्के स्मृति पुरस्कार अभिनेत्री गौरी मल्ललाई प्रदान गरियो। चार दशकदेखि अभिनयमा योगदान दिँदै आएकी अभिनेत्री गौरी मल्ल यतिबेला आमाको अशौचमा रहेकी छिन्। यो पुरस्कारको राशी ५६ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, संघले गोपाल राउत स्मृति पुरस्कार कलाकार रामकाजी घिमिरेलाई प्रदान गर्यो। यो पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ। संघले विशेष सम्मान डा. रूपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह, र एयर सेल ट्राभललाई प्रदान गर्यो।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष एवं समारोहका सभापति मोहन निरौलाले संघको स्थापनाकालदेखि अहिलेसम्मको यात्रा स्मरण गर्दै, आफूले पदभार ग्रहण गरेपछि संघले गरेका गतिविधि र प्रगतिबारे प्रकाश पारे।

सम्मानित कलाकार लय संग्रौलाले सम्मान ग्रहण गर्दै आफ्नो संघर्षको कथा सुनाए। उनले रंगमञ्चदेखि चलचित्र हुँदै टेलिभिजनसम्मको यात्रामा भोगेका कठिनाइ र संघर्ष उल्लेख गर्दै सरकारबाट उपेक्षित महसुस भएको बताए।

समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सम्मानित तथा पुरस्कृत कलाकारहरूलाई बधाई दिए। साथै, चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको मेडिकल इन्सुरेन्स अब उप्रान्त ३० वर्ष योगदान दिएका चलचित्रकर्मीहरूका लागि २ लाख र २० वर्ष योगदान दिएका चलचित्रकर्मीहरूका लागि १ लाख रुपैयाँ पुर्याइने घोषणा गरे। यसअघि ३० वर्ष योगदान दिने चलचित्रकर्मीहरूले मात्र १ लाख रुपैयाँ पाउने व्यवस्था थियो।

उनले चलचित्र विकास बोर्डमार्फत चलचित्र कल्याणकारी कोषमा ३६ लाख रुपैयाँ प्रदान गरिएको तथा काभ्रेमा नेपालकै सबैभन्दा ठूलो चलचित्र स्टुडियो निर्माणको प्राविधिक खाका तयार पारिएको जानकारी दिए। नेपाल चलचित्र कलाकार संघमार्फत पनि कलाकारहरूको हकहितका लागि आफू प्रतिबद्ध रहेको उनले बताए।

नेपाल चलचित्र कलाकार संघकी संरक्षक एवं विशिष्ट अभिनेत्री वसुन्धरा भुसालले चलचित्रका कार्यक्रमहरूमा अनुशासनको महत्त्व अझै पनि कलाकारहरूले बुझ्नुपर्ने आवश्यकता रहेको बताइन्। उनले सुटिङ स्थलमा निर्देशकले "प्याकअप" नभनुन्जेल नछोड्ने जस्तै अनुशासन हरेक ठाउँमा हुनुपर्नेमा जोड दिइन्।

नेपाल चलचित्र कलाकार संघका सदस्य गोपाल ढकाल छन्देले सञ्चालन गरेको उक्त कार्यक्रममा महासचिव सविन श्रेष्ठले सहभागीहरूलाई स्वागत गरेका थिए। साधारणसभा तयारी समितिका संयोजक महासचिव सविन श्रेष्ठ नै रहेका थिए। समारोहमा विशिष्ट चलचित्रकर्मी चैत्यदेवी सिंहले चलचित्र कल्याणकारी कोषलाई २५ हजार नगद सहयोग गरेकी छन्।

धेरै पढिएको