बिशिष्ठ व्यक्तित्वहरु चेतन कार्की स्मृति पुरस्कारबाट पुरस्कृत
News Desk
Apr-25 तारिख 06:10 बेलुका

काठमाण्डौ – परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषले राजधानीमा संयुक्त रुपमा सम्मान तथा पुरस्कार कार्यक्रमको आयोजना गरेको छ ।
परिवर्तन नेपालद्धारा स्थापित चेतन कार्की स्मृति पुरस्कार तथा निशा घिमिरे स्मृतिकोष द्धारा स्थापित निशा घिमिरे स्मृति पुरस्कार क्रमश बरिष्ठ चलचित्र निर्देशक दयाराम दाहाललाई निशा घिमिरे स्मृति सम्मान, बरिष्ठ चलचित्र निर्देशक आकाश अधिकारीलाई नगद रु १५ हजार सहित चेतन कार्की स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

सोही समारोहमा नायिका तथा मोडल अनु शाहलाई नगद रु २० हजार सहित निशा घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको थियो भने सोही समारोहमा निशा घिमिरे स्मृति प्रतिभा पुरस्कारबाट मोडल तथा गायिका बबिता ढकाललाई नगद रु २० हजार सहित पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै संचारकर्मी गीता अधिकारीलाई नगद रु १० हजार सहित निशा घिमिरे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । बरिष्ठ कलाकार भुवन चन्द, बसुन्धरा भुषाल, चैत्य देवी, मिथिला शर्मा, शर्मिला मल्ल, सपना श्रेष्ठ, नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, निर्देशक तथा कलाकार दिपाश्री निरौला, निशा घिमिरे स्मृति कोषका अध्यक्ष दुर्गानाथ दाहाल एवम् परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा बरिष्ठ चलचित्र लेखक तथा निर्देशक मोहन निरौला लगायतले शो पुरस्कार प्रदान गरेका हुन् ।

चेतन कार्की स्मृति पुरस्कार पाए पछि निर्देशक आकाश अधिकारीले आफ्नो जीवनमा पहिलो पटक नगद राशी सहित पुरस्कार प्रदान गरिएकोमा परिवर्तन नेपाललाई धन्यबाद दिएका छन् । अधिकारीलाई नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्नको लागी खेलेको भुमिकाको लागी यो पुरस्कार प्रदान गरिएको थियो । बिशिष्ठ चलचित्र लेखक तथा निर्देशक मोहन निरौलाले आफ्ना गुरुको नाममा चेतन कार्की स्मृति पुरस्कार राखेका हुन् ।

कार्यक्रममा दयाराम दाहालले आफुले प्राप्त गरेको सम्मानको लागी आयोजकलाई धन्यबाद दिँदै सरकारले कलाकर्मी एवम् चलचित्रकर्मीहरुको हितको लागी सामाजिक सुरक्षा कोषको निर्माण गर्नुपर्नेमा जोड दिए । दाहालले चलचित्र विकाश बोर्डको अध्यक्ष रहँदा नै सामाजिक सुरक्षा कोषको लागी पहल कदमीको थालनी गरेका थिए । कार्यक्रममा अभिनेत्री अनु शाहले आफुले यो पुरस्कार ग्रहण गर्दा आफु निक्कै भावुक भएको र अभिनेत्री तथा मोडल निशा घिमिरेलाई सम्झिएको बताईन् ।

कार्यक्रममा बिशिष्ठ अभिनेत्री मिथिला शर्माले बिशिष्ठ चलचित्र निर्देशक स्व. चेतन कार्कीको योगदानको चर्चा गर्दै भनिन्“ कला साहित्य संस्कृति एवम् चलचित्र क्षेत्रको विकासको लागी उच्च योगदान दिएका एक धरोहर हुन् स्व. चेतन कार्की तर राज्यले उनको योगदानको कतै पनि कदर नगरेको देख्दा आफुलाई निक्कै दुःख लागेको छ, तर परिवर्तन नेपालले चेतन कार्कीको स्मृतिमा पुरस्कारको स्थापना गरी वहाँको योगदानलाई स्मरण गरेकोमा धन्यबाद दिन चाहान्छु” अभिनेत्री शर्माले स्व. कार्की संग चार दशक भन्दा अगाडीबाट विभिन्न चलचित्र तथा गीत संगीत क्षेत्रमा काम गरेकी थिईन् ।

चलचित्र निर्देशक एवम् परिवर्तन नेपालका मानार्थ सदस्य माधव राज खरेलले संचालन गरेको उक्त कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष एवम् बिशिष्ठ चलचित्र लेखक तथा निर्देशक मोहन निरौलाले स्व. चेतन कार्कीको योगदानको चर्चा गर्दै त्यस्ता माहान व्यक्तिको नाममा पुरस्कार स्थापना गर्न पाउँदा आफुलाई खुशी लागेको बताए ।

नव जिवन परोवपकारी समाज एवम् निशा घिमिरे स्मृति कोषका अध्यक्ष दुर्गानाथ दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नेपाली चलचित्र क्षेत्रका सिद्धहस्त कलाकार, निर्देशक एवम् संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।